आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आ.व. २०७७/७८ मा बालबालिकालाई लगाउने ४८ लाखभन्दा बढी खोप खेर

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १५:२४ मा प्रकाशित (१ साल अघि) २७२ पाठक संख्या

१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा १५ महिनासम्म लगाइने ४८ लाखभन्दा बढी खोप खेर गएको छ । विभिन्न खोप दाता अनुदानमा प्राप्त तथा औषधि विभागले खरिद गरी नेपाल सरकारले निःशुल्क रुपमा लगाउँदै आएको खोप खेर गएको हो ।

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ ले आर्थिक वर्ष २०७७/७८ मा ४८ लाख ३७६ मात्रा खोप खेर गएको देखाएको छ । खेर जानेमा सबैभन्दा बढी बच्चा जन्मने बितिकै लगाइने बीसिजी खोप २० लाख ९५ हजार ३९८ अर्थात् ७८.८ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, प्रतिवेदनमा जन्मिएको ६ र १० हप्तामा लगाईने पेन्टा डीपीटी चार ६४ हजार १५२ अर्थात् २२.२ प्रतिशत खोप खेर गएको छ । बच्चा जन्मिएको नौ महिनामा लगाईने दादुरा रुबेला नौ लाख २७ हजार ५३३ अर्थात् ४८.३ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बच्चा जन्मिएको ६, १० र १४ हप्तामा लगाइने पोलियो ओपीभी चार लाख ६३ हजार ५३३ अर्थात् २३.२ प्रतिशत खोप खेर गएको देखिएको छ । जन्मिएको १२ हप्तामा लगाइने जापानिज इन्सेफलाइटिस खोप चार लाख ३६ हजार ४४६ मात्रा अर्थात ४६.५ प्रतिशत खेर गएको उक्त प्रतिवेदनमा जनाइएको छ ।

धनुष्टंकार र भ्यागुते रोगविरुद्ध लगाइने टीडी खोप चार लाख १३ हजार ३३३ लाख अर्थात् ३६ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।