आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

दैलेख गुराँस गाउँपालिकाका करार कर्मचारीद्वारा कार्यालय तोडफोड

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार २०:२५ मा प्रकाशित (१ साल अघि) ३६७ पाठक संख्या

३२ असार, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा कार्यरत करार कर्मचारीको करार सम्झौता नगर्ने विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड गरेका छन् । करार कर्मचारीले गरेको आन्दोलनले उग्र रुप लिएपछि कार्यालयमा तोडफोड भएको हो ।

गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँसभाको १० औँ अधिवेशनले गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको थियो । करार सम्झौताको म्याद थप नहुने भएपछि कर्मचारीहरु शुक्रवारदेखि आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलित कर्मचारीहरुले शुक्रवार दिउँसो १ बजेदेखि शान्तिपूर्ण आन्दोलन थालेका थिए । एक्कासि गाउँपालिकाका निवर्तमान अध्यक्ष र नेपाली कांग्रेसका पूर्व पार्टी जिल्ला सभापति कृष्णकुमार बिसीलगायत कांग्रेसका नेताहरुले आन्दोलनमा सहभागी हुँदा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर तीन जना कर्मचारी घाइते भएका छन । घाइते हुनेमा गुराँस गाउँपालिका १ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने निर्णय गरेको थियो ।