आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

श्रीलंकामा प्रदर्शनकारीको कब्जामा राष्ट्रपति निवास

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार ०८:०९ मा प्रकाशित (१ साल अघि) २३१ पाठक संख्या

२६ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । आर्थिक रुपमा श्रीलंका टाट पल्टिए पछि बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव भएसँगै श्रीलंकामा आन्दोलन भइरहेको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ । यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो ।

शनिबार बढ्दो महँगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा ¥याली आह्वान गरिएको थियो । प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरे ।

सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो ।

तर विपक्षी दल र आम नागरिकले विरोधपछि सरकारी कर्फ्यू हट्यो भने शनिबार बिहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रक जस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।

करिब दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केही प्रदशर्नकारी मेन गेटमा चढेर परिसरमा घुसे ।

प्रदर्शनकारीलाई रोक्न सुरक्षाबलले अश्रुग्याँस, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

गोटा गो होमको नारा लगाएर राष्ट्रपति कार्यालय प्रवेश गरेका प्रदर्शनकारी भान्सा र बेडरुममा समेत प्रवेश गरेका थिए ।