आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय 

गोकर्णेश्वर खबर२१ असार २०७९, मंगलवार २०:२७ मा प्रकाशित (१ साल अघि) २०२ पाठक संख्या

२१ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय लिएको हो ।

सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको ती मन्त्रीले जानकारी दिए । विधेयक बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट फिर्ता लिने तयारी सरकारको छ ।