आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

गोकर्णेश्वर खबर२० असार २०७९, सोमबार २१:४२ मा प्रकाशित (१ साल अघि) २२० पाठक संख्या

२० असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ । यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको हो ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।