आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

२८ दिनमा पौने दुई अर्बको विद्युत् भारत निर्यात

गोकर्णेश्वर खबर१९ असार २०७९, आईतवार २१:१८ मा प्रकाशित (१ साल अघि) १६२ पाठक संख्या

१९ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २८ दिनमा एक अर्ब ७२ करोड रुपियाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले विद्युत् खरिद बिक्री गर्ने भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)मा नेपालमा बचत भएको बिजुली बेचेर उक्त आय गरेको हो । यो अवधिमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसामा बिक्री गरेर प्राधिकरणले खुद आम्दानी गरेको हो । यो आम्दानीमा कमिसन, कर तथा ह्विलिङ चार्ज कटाइएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा प्रधिकरणले कुल १७ करोड ८१ लाख ९१ हजार युनिट बिजुली निर्यात गरेको हो । यो अवधिमा प्रतियुनिट मूल्य सबैभन्दा बढी असार १ गते १५ रुपियाँ ९३ पैसा र सबैभन्दा कम असार ७ गते चार रुपियाँ ५२ पैसा थियो । समग्रमा जुन महिनाभरको बिक्रीमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसा प्राधिकरणले पाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो परिणामले मुलुकको समग्र व्यापार घाटालाई समेत कम गर्न बिजुली निर्यातले महत्वपूर्ण सहयोग पुग्ने भएको छ । विदेशी मुद्रा सञ्चितिको चाप परिरहेका बेला बढी भएको बिजुली बेचेरै आकर्षक परिमाणमा विदेशी मुद्रा आर्जन गर्न भएको छ । आगामी आर्थिक वर्षमा करिब २० अर्बको विद्युत् निर्यात हुने हाम्रो प्रक्षेपण गरिएको छ ।