आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

राजधानीका १० ठाउँमा हैजाको संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१४ असार २०७९, मंगलवार २१:११ मा प्रकाशित (१ साल अघि) २०४ पाठक संख्या

१४ असार, काठमाडौं । उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएपछि विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी नअपनाए स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । काठमाडौं उपत्यकाका १० ठाउँमा १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।

दुई साताअघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमशः विस्तार हुने क्रममा छ । डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बिरामीको संख्या वृद्घि हुँदै गएको बताए । उनका अनुसार पाटन अस्पताल र वयोधा अस्पतालमा एकएक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना हैजाका बिरामी उपचाररत छन् ।