आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बागमतीमा प्रमुख प्रतिपक्षसँग सहमति, प्रदेशसभामा अवरोध अन्त्य

गोकर्णेश्वर खबर१३ असार २०७९, सोमबार १६:१४ मा प्रकाशित (१ साल अघि) १९२ पाठक संख्या

१३ असार, काठमाडौं । बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष एमालेले गरेको अवरोध अन्त्य गरेको छ । प्रदेशसभामा अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग सहमति भए पछि बसेको प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७९ लाई छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १२ गते बैठक अवरुद्ध गरेको थियो । अवरुद्ध संसद सञ्चालनका लागि सभामुख सानुकुमार श्रेष्ठको सक्रितामा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि आज बैठक सञ्चालन भएको थियो ।

एमाले र सत्तापक्षबीचको सहमति अनुसार आजको बैठकमा सरकारको तर्फबाट सदनमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले एमालेले उठाएका विषयमा जवाफ दिएका थिए । उनले सदनबाट जवाफ दिँदै बहुवर्षीय योजनाहरुको हकमा विगतमा चल्दै आएको र नयाँ योजनाहरुमा बजेट विनियोजन गरेको बताए ।

सरकारले विगतमा ल्याइएका सडक सञ्जालका योजनाहरु नछुटाई बजेटमा समावेश गरिएको उनको भनाइ छ । चालु आर्थिक वर्षमा बहुवर्षे योजनाहरुमा विनियोजित ७ अर्ब हाराहारीको बजेटमध्ये ४ अर्बमात्र खर्च भएको र आगामी आर्थिक वर्षका लागि ५ अर्ब बजेट विनियोजन गरिएको उनले बताए ।

बजेट निर्माणको प्रक्रिया र त्यसका सीमाहरुको कारण सरकारले काम गर्ने क्रममा केही गल्ती, कमजोरीले केही योजना छुटेको उनले बताए । त्यसलाई सच्याएर अघि बढ्न सरकार तयार रहेको उनको भनाइ छ ।