आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काभ्रेका स्थानीय बजेटमा जिपलाइन, स्थानीय मदिरालाई ब्राण्डिङदेखि केबुलकारसम्मका योजना

गोकर्णेश्वर खबर१३ असार २०७९, सोमबार ०९:०५ मा प्रकाशित (१ साल अघि) २२८ पाठक संख्या

१३ असार, काठमाडौं । काभ्रेका स्थानीय तहले नगर/गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । पालिकाले स्थानीय बजेटमा जिपलाइनदेखि केबुलकार बनाउने, स्थानीय मदिरालाई ब्राण्डिङ गरेर बजारको पहुँचसम्म पुरयाउने, गाउँमा नै ‘मिनरल वाटर’को उद्योग सञ्चालन गर्ने जस्ता योजनाहरु समावेश गरेका छन् ।

काभ्रेका अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् भने केहीले बजेट निर्माणबारे छलफलको चरणमै रहेको जनाएका छन् । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । छ नगरले नीति, कार्यक्रमसँगै बजेट पनि सार्वजनिक गरेका छन् । सात गाउँपालिकामध्ये तीन तेमाल, भुम्लु र चौँरीदेउरालीले बजेट निर्माणबारे छलफल भइरहेको जनाएका छन् ।

मण्डनदेउपुर नगरपालिकाले आगामी आवमा पर्यटनतर्फ साहसिक खेलपर्यटन जिपलाइन निर्माण गर्ने जनाएको छ ।

यसैगरी बेथानचोक गाउँपालिकाले भने काभ्रेपलाञ्चोककै उच्चस्थान बेथानचोक नारायणस्थान मन्दिरस्थित डाँडासम्म केबुलकार सञ्चालन गर्ने आफ्नो नीति, कार्यक्रममा उल्लेख गरेको छ ।

नमोबुद्ध नगरले बर्सेनि अभाव हुने रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न आगामी आवमा कृषि सहकारीसँगको समन्वयमा ‘मल बैंक’को स्थापना गर्ने नीति, कार्यक्रममा जनाएको छ ।

भुम्लु गाउँपालिकाले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रलाई प्राथमिकता राखी रासायनिक मलको अभावलाई व्यवस्थापन गर्न प्राङ्गारिक खेती प्रणालीमा जैविक विषादीप्रति आकर्षणको प्रक्रिया अगाडि बढाइने जनाएको छ । त्यस्तै गाउँमा नै ‘मिनरल वाटर’को उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको उद्योग पकेट क्षेत्र निर्धारण गर्ने तथा ब्राण्डिङ गर्ने साथै स्थानीय मदिरालाई ब्राण्डिङ गरेर बजारको पहुँचसम्म पुरयाउने लगायतको योजना नीति, कार्यक्रममा समावेश गरेको छ ।

चौँरीदेउराली गाउँपालिकाले भने आगामी आवदेखि सशस्त्र जनयुद्ध र जनआन्दोलनका शहीद तथा बेपत्ता पारिएका परिवारलाई यस वर्ष रु १ हजार थप गरेर मासिक रु ३ हजार नगद दिने भएको छ ।

यसैगरी, बनेपा नगरले आफ्नो नीति तथा कार्यक्रममा स्वामित्वको बसपार्कमा नगर विकास कोषसँगको लागत सहभागितामा बहु तले सवारी पार्किङस्थल निर्माण गरी पार्किङ व्यवस्थापन गर्ने जनाएको छ ।