आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

आरोपितलाई बचाउन जिल्ला न्यायाधिवक्ताको सरुवा गरेको भन्दै महान्यायाधिवक्ता खाती विवादित

गोकर्णेश्वर खबर८ असार २०७९, बुधबार १९:२६ मा प्रकाशित (१ साल अघि) १३२ पाठक संख्या

८ असार, काठमाडौं । बालिका बलात्कारको आरोप लगोका व्यापारीलाई बचाउन नमान्दा ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयका साहयक जिल्ला न्यायाधिवक्ता संगीता थोकरको सरुवा भएको भन्दै महान्यायाधिवक्ता खम्मबहादुर खाती विवादमा परेका छन् ।

आफ्नै संरक्षणमा रहेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका व्यापारी सुशील चटौतलाई बचाउन नमान्दा महान्यायधिवक्ता कार्यालयले न्यायाधिवक्ता थोकरको सरुवा गरेको आरोप महान्यायाधिवक्ता खाती माथी लागेको छ ।

ललितपुर सरकारी वकिलको कार्यालयका साहयक न्यायाधिवक्ता थोकरलाई मुख्य न्यायाधिवक्ता कार्यालय, हेटौँडाको शाखा अधिकृतमा असार २ गते सरुवा गरिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्ने ३६ वर्षीय चटौतलाई तीन वर्षदेखि बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । उक्त मुद्दा कम्जोर बनाउन महान्यायाधिवक्ताको कार्यालय नै लागिपरेको आरोप लागेको छ ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले बलात्कार जस्तो जघन्य अपराधका आरोपीलाई समेत जोगाउन खोजेको जिल्ला न्यायाधिवक्ता संगीता थोकरले नै खुलासा गरेकी छिन् । सोही मुद्दामा आरोपीको पक्ष नलिदा आफ्नो सरुवा भएको थोकरले बताएकी छन् ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीको सचिवालयले ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयलाई उक्त मुद्दा कमजोर बनाउन दबाब दिँदै आएका बताईएको छ । खातीको सचिवालयलले ललितपुर सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सुशीला ज्ञवाली र सहायक जिल्ला न्यायाधिवक्ता ललिता श्रेष्ठलाई मुद्दा कमजोर बनाउन दबाब दिएको थियो ।

खातीको सचिवालयलले फोन गरेर सफाइ पाउने गरी अभियोजन लगाउन भनेपछि सहायक न्यायाधिवक्ता श्रेष्ठले उक्त फाइल हेरिनन् । श्रेष्ठले यो मुद्दा हेर्न नमानेपछि थोकरलाई अभियोजनकर्ता तोकिएको थियो । तर, थोकरले पनि फाइल हेर्न नमानेपछि उनलाई मुख्य न्यायाधिवक्ता कार्यालय, हेटौँडाको शाखा सरुवा गरिएको हो ।

फौजदारी कसुरमा पीडितको पक्षमा कानुनी प्रतिरक्षा गर्ने महान्यायाधिवक्ताको कार्यालय र त्यस मातहतका सरकारी वकिल कार्यालयको मूलभूत जिम्मेवारी हो । तर बलात्कारजस्तो जघन्य अपराधमा मुछिएका अभियुक्तलाई छुटाउन महान्यायाधिवक्ताको कार्यालयबाटै दबाब आएको भन्दै महान्यायाधिवक्ता खम्मबहादुर खाती विवादित भएका छन् ।