आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

काठमाडौंमा मतदाता नामावलि संकलन सजिलो बनाउन ध्यानाकर्षण

गोकर्णेश्वर खबर८ असार २०७९, बुधबार १८:५३ मा प्रकाशित (१ साल अघि) ४०२ पाठक संख्या

८ असार, काठमाडौं । काठमाडौंमा मतदाता नामावलि संकलन सजिलो बनाउन नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले ध्यानाकर्षण गरेको छ । आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमाले काठमाडौंले सो ध्यानाकर्षण गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा नामावलि संकलन कार्य व्यवस्थित नभएकोले आम नागरिकले दु:ख पाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

‘जिल्ला निर्वाचन कार्यालय काठमाडौं वरिपरी बिहान देखि बेलुका साँझसम्म काठमाडौँ वासीहरु मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न लाईनमा बसेर थकित हुनु पर्ने अवस्था छ । तै पनि विहान देखिको लाईनमा रहनु भएका नागरिकहरु नाम दर्ता गर्न नसकी फर्कनु परेको अवस्था प्रति नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ’ पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौंवासीलाई सजिलो हुने गरी सबै नागरिकले सुविधाको उपयोग गर्न सक्ने गरी व्यवस्था मिलाउन आग्रह गर्दै ध्यानाकर्षण पत्रका भनिएको छ- ‘काठमाडौंमा ११ वटा पालिका र १३८ वटा वडा कार्यालय छन् । काठमाडौंको भूगोल अनुसार जिल्ला निर्वाचन कार्यालय आइपुग्दा पनि निकै समय लाग्दछ । सबै नागरिक सुविधाको उपयोग गर्न सक्ने अवस्थामा पनि छैनन् । मतदाताहरुलाई सहजतापूर्वक आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न राज्यले सकेसम्म प्रत्यक वडा वडामा त्यो कार्य सम्पादन गर्नु पर्दछ । यदि त्यति व्यवस्थापन नसक्ने परिस्थिति गर्न सकस भए ११ वटै पालिकामा निर्वाचन कार्यालय व्यवस्थित गरेर अनिवार्य रुपमा मतदाता नामावलीमा नाम समावेश गर्ने काम होस् सो कार्य सम्पादनका निमित्त जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौँका प्रमुख जिल्ला अधिकारी ज्यु समक्ष यो ध्यानाकार्षण पत्र प्रस्तुत गरेका छौ ।

यस पत्रमा प्रस्तुत बिषय सम्बन्धित निकाय मार्फत तत्कालै कार्यान्वन हुनेछ भन्ने विश्वास नेकपा ( एमाले ) काठमाडौँ जिल्ला कमिटी गर्दछ । तसर्थ ज्ञापन पत्र, यथाशीघ्र कार्यान्वनको निमित्त अनुरोध गरिन्छ ।’

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।