आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

छैटौं निसान कप फुटसल प्रतियोगिताको उपाधि नेपालयलाई

गोकर्णेश्वर खबर५ असार २०७९, आईतवार २१:३३ मा प्रकाशित (१ साल अघि) ३०३ पाठक संख्या

५ असार, काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले आयोजना गरेको निसान कप फुटसल प्रतियोगिता नेपालय इंग्लिस पब्लिक स्कुलले जितेको छ । आज भएको फाईनल खेलमा नेपालयले टाईब्रेकरमा मनकामना उ.मा.वि.लाई जितेको हो ।

यसैगरी, प्रतियोगितामा विट्स एकेडेमी तेस्रो भयो भनें लिटिल बर्डले चौथो स्थान हासिल गरेको छ ।
नेपाल मेडिकल कलेज अत्तरखेल नजिक रहेको रम्बल फुटसलमा भएको छैटौं ७ ’ए’ साइड फुटसल प्रतियोगितामा ३६ टिमले भाग लिएका थिए ।

आज विजेता, उपविजेता, तेस्रो र चौथो भएका टिमलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र बढी गोल गर्नेलाई ट्रफीद्वारा सम्मान गरिएको थियो । विजेताले नगद १५ हजार, उपविजेताले १० हजार र तृतीय हुनेले नगद रु ५ हजार नगद पुरस्कार पाएका छन् ।

यसैगरी, उत्कृष्ठ खेलाडी मनकामनाका निशान्त तामाङ, उत्कृष्ठ गोल रक्षक नेपालयका पृथ्वी खड्का, सर्वाधिक गोलकर्ता विट्स एकेडेमीका सुजन वि.क. भएका छन् भनें फेयर प्ले अवार्ड जीवनतारा एकेडेमीले पाएको छ ।

पुरस्कार वितरण कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको प्रमुख आतिथ्यता तथा निसानका अध्यक्ष ओम प्रसाद ढकालको सभापतित्वमा भएको थियो । कार्यक्रममा उपमेयर सान्नानी लामाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम गोनपाका शिक्षा शाखा प्रमुख दण्डपाणि शर्मा पौडेल, वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा, गोनपा ८ का सदस्य सुमन लामा, प्याव्सन काठमाडौं सचिव सुदर्शन थापा, प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी.एन.सिवाकोटी लगायतको आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निसानका अध्यक्ष ओम प्रसाद ढकालले विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि प्रतियोगिताले रचनात्मक सहयोग पुगेको विश्वास व्यक्त गर्दै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।