आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पत्रकार रवि लामिछाने काठमाडौं ३ बाट चुनाव लड्ने !

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार १८:१४ मा प्रकाशित (१ साल अघि) १३१५ पाठक संख्या

२ असार, काठमाडौं । राजनीतिमा आउन ‘ग्यालेक्सी फोर के’ टेलिभिजन छोडेका पत्रकार रवि लामिछाने कहाँबाट चुनाव लड्दै छन् भन्ने चर्चा चुलिएको छ ।

लामिछानेले राजनीतिमा लाग्ने निधो गरेको बताए पनि उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको खुलाएका छैनन् । यसैबीच उनी काठमाडौंमा कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन् भन्ने विभिन्न आंकलन शुरु भएको छ ।

आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताएका लामिछानेले स्वतन्त्र रुपमा राजनीतिमा लाग्ने सोच नबनाएको धारणा उनी निकटकालाई उद्धृत गर्दै बाहिर आएको छ ।

एकातिर, लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी भइराखेको छ । उनका ससुरा उद्दव पौडेल राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका हुनाले पारिवारिक सम्बन्धका कारण राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी पनि भईरहेको छ ।

लामिछानेको मतदाता नामावली काठमाडौंको क्षेत्र नं ३ मा 

पत्रकार लामिछानेको मतदाता नामावली काठमाडौंको क्षेत्र नं ३ मा रहेको हुनाले उनी यहाँबाट चुनाव लड्ने पनि आंकलन गरिएको छ । काठमाडौं क्षेत्र नं ३ मा राष्ट्रियस्तरको नेता नभएका कारण आफ्ना लागि सहज हुने लामिछानेले आकलन गरेको उनी निकटकाले बताएका छन् । अर्कोतिर, लामिछानेले काठमाडौं क्षेत्र नं २ बाट समेत निर्वाचन लड्ने विषयमा विचार गरिरहेको चर्चा समेत बाहिर आएको छ।

काठमाडौं क्षेत्र नं ३ मा विगतमा नेपाली कांग्रेसको प्रभाव रहे पनि पछिल्लो समय २०७० सालमा नेकपा एमालेका रामेश्वर फुयाँलले  र  नेकपा एमालकै कृष्ण राईले २०७४ मा चुनाव जितेका थिए । नेपाली कांग्रेसका प्रभावशाली नेता चक्र ठकुरीको निधन भईसकेको र राष्ट्रियस्तरको नेता नभएका कारण लामिछानेले काठमाडौं ३ लाई नै रोज्ने संभावना बढीरहेको समेत उनी निकटका व्यक्तिहरुलाई उद्धृत गर्दै धारणा बाहिर आएका छन् ।