आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अष्ट्रेलियामा विश्वभरका नेपाली चिकित्सक भेला हुने

गोकर्णेश्वर खबर३० जेष्ठ २०७९, सोमबार ११:३० मा प्रकाशित (१ साल अघि) २३४ पाठक संख्या

काठमाडौं, जेठ ३० गते। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्।
एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने बताइएको छ।
एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा। सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मी एउटै छानामुनी ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन्।
एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्र्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो। सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ।
समितिका अध्यक्ष डा। सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ।
बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका सल्लाहकार डा। हेमराज शर्माले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्। संघका उपमहासचिव डा। देवी बस्नेतले एनआरएनए स्वास्थ्य समितिले एनआरएनएको नाम उच्च स्तरमा राखेको र सिङ्गो नेपाली समुदायले समितिप्रति गर्व गरेको बताए।
‘विगतका वर्षमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाको घोषणा, साझेदारसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा सापकोटाले भने।