आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

युवा समाजसेवी निरञ्जन पुडासैनीले काठमाडौं क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने

गोकर्णेश्वर खबर२६ जेष्ठ २०७९, बिहीबार २२:३६ मा प्रकाशित (१ साल अघि) ९७१ पाठक संख्या

२६, ज्येष्ठ, काठमाडौं । वागमति पिडित संघर्ष समिति मार्फत किसानलाई न्याय र क्षतीपूर्तिका लागि आन्दोलनको नेतृत्व गर्दै आईरहेका युवा समाजसेवी निरञ्जन पुडासैनीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीका साथ अगाडी बढेको बताएका छन् ।

उनले भ्रष्टाचार निमूल गरी सामाजिक न्याय सहितको दीगो विकासको उदेश्य बोकेर आफूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको गोकर्णेश्वर खबरलाई बताए ।

काठमाण्डौ क्षेत्र नं ३ को सामाजिक र भौतिक विकास सन्तोषजनक हुन नसकेको बताउँदै उनले विकासमा भ्रष्टाचार भएसम्म दीगो विकास हुन नसक्ने ठहर गरेर आफूले दीगो विकासको भिजन बोकेर काठमाडौं क्षेत्र नं. ३ वासीहरुको बिचमा जाने तयारी गरिरहेको बताए ।

स्नातकोत्तरसम्म अध्ययन गरेका पुडासैनी विभिन्न संस्थाहरुमार्फत समाजसेवाको क्षेत्रमा समेत क्रियाशिल रहेका छन् । उनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत हुन् । हाल उनी नमुना बौद्ध चेस क्लबका अध्यक्ष तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सामाजिक विकास अधिकृत रहेका छन् ।

राजनीतिक दलले ६० वर्षमा जनताको चित्त बुझ्ने गरी विकास गर्न नसक्दा राजनीतिक दलप्रतिको आकर्षण घटिरहेको र देशमा बढ्दो भ्रष्टाचार देखेर युवा पुस्ताले राजनीतिलाई घृणा गरिरहेको उनले दावी गरे ।

काठमाडौं क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने गरी आफूले गरिरहेको तयारी प्रति क्षेत्रबासीबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै उनले त्यसबाट आफूलाई अगाडी बढ्न थप हौसला मिलेको बताए ।