आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको अवरोध

गोकर्णेश्वर खबर२४ जेष्ठ २०७९, मंगलवार १०:५६ मा प्रकाशित (१ साल अघि) ७१९ पाठक संख्या

२४ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न स्थानीयको अवरोध गरेका छन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका हुन् ।

सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भए पनि आज फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमा अवरोध गरेका छन् । स्थानीयले पालिकाले गरेको सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् ।

शहरी विकास मन्त्रालयको पहलमा सोमबार बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।