आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

दुर्व्यवहार आरोपी तामाङलाई अभिनेत्री मगरद्वारा ‘भाइ’ सम्झेर माफी

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७९, मंगलवार २०:१८ मा प्रकाशित (१ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले दुर्व्यवहारको आरोप लागेका फुर्पा तामाङलाई भाइ सम्झेर माफी दिएकी छन् ।

मंगलबार दुवै पक्षबीच भएको सहमतिमा मगरले आरेपी फुर्पालाई भाइ सम्झेर माफी दिएकी हुन् भने अभिनेत्री मगरले पनि बौद्ध धर्मावलम्बीसँग माफी मागेकी छन् ।

दुवै पक्ष छलफलले आगामी दिनमा यस विषयमा विवाद नगर्ने, एकअर्काप्रति अनावश्यक टिप्पणी नगर्ने र धार्मिक तथा साम्प्रदायिक द्वेश फैलन नदिन सबै सरोकारवालालाई अपिल गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् ।

यस्तै, बौद्ध धर्मावलम्बी, भिक्षु तथा लामा समुदायहरूको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के र हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

जेठ १५ गते सिभिल मलमा दर्शकसँगको साक्षात्कारमा अभिनेत्री मगरमाथि दुर्वयवहार गरेको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेको थियो ।

आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन् ।

मंगलबार भने प्रमुख जिल्ला अधिकारीको आदेशमा तामाङ तीन हजार धरौटीमा रिहा भएका छन् । तामाङ रिहा भएसँगै बौद्ध भिक्षुहरू र फिल्मको टीम बसेर घटनाको सहमति गरेको हो ।

प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन् । प्रदर्शनकारीहरुले भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।