आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी

गोकर्णेश्वर खबर११ जेष्ठ २०७९, बुधबार ११:५१ मा प्रकाशित (१ साल अघि) १०३२ पाठक संख्या

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन् । तर, केही हजार मत गन्न अझै बाँकी रहेकोले उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । उनी निर्वाचित भएको घोषणा आजै अबेर राती वा भोलि बिहानसम्म हुन सक्छ ।

काठमाडौं महानगरपालिकामा कूल १ लाख ९१ हजार १२५ मत खसेकोमा अहिलेसम्म १ लाख ७१ हजार ८०२ मतको गणना भइसकेको छ । अब १९ हजार ३२३ मत मात्र गन्न बाँकी छ । यतिबेला बालेनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंह श्रेष्ठसँग २० हजार ३७६ मतको अग्रता बनाएका छन् ।

गन्न बाँकी मतभन्दा बालेन शाहले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता बढी भइसकेकोले बालेन निर्वाचित भइसकेका हुन् । किनकि अब गन्न बाँकी भोट सबै सदर भएर सबै भोट जुनसुकै एउटै प्रतिस्पर्धीले पाएको अवस्थामा पनि उनले बालेनलाई भेट्टाउने सम्भावना समाप्त भइसकेको छ ।

अहिलेसम्मको गणनामा बालेनले ५५ हजार ७४७ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सृजना सिंह श्रेष्ठले ३५ हजार ३७१ मत पाएकी छिन् । एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् । काठमाडौंको कोर एरियामा राम्रो मत पाएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार ३२२ मत पाएका छन् ।