आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

आजदेखि स्थानीय सरकारमा नयाँ प्रतिनिधि

गोकर्णेश्वर खबर६ जेष्ठ २०७९, शुक्रबार ०८:४२ मा प्रकाशित (१ साल अघि) ३६० पाठक संख्या

६ जेठ, काठमाडौं । स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुक्रबार (आज) सुरु हुँदै छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार रातिसम्म ६०३ पालिकाको परिणाम आएको छ । सत्तारूढ दल कांग्रेसले सबैभन्दा धेरै पालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने ०७४ को निर्वाचनमा पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा छ । महिला प्रमुखको संख्या भने हालसम्म जम्मा १७ मा सीमित छ । पालिका प्रमुखमा ५८६ जना पुरुषले जितेका छन् । यसरी महिला प्रमुखको संख्या ३ प्रतिशत पनि पुगेको छैन । उपप्रमुखमा भने महिलाको संख्या ७३ प्रतिशत छ । ४३९ पालिकामा महिला उपप्रमुख हुँदा पुरुषको संख्या १६४ छ ।

एमालेले सबैभन्दा धेरै १८७ पालिकामा जितेकामा महिलाको संख्या १६५ (८८ प्रतिशत) छ । कांग्रेसले २४६ पालिकामा उपप्रमुख जित्दा महिला १८१ जना (७४ प्रतिशत) र माओवादीले ११५ पालिका उपप्रमुख जितेकामा महिला ५६ जना (४९ प्रतिशत) छन् ।

एकीकृत समाजवादीले १८ पालिकामा उपप्रमुख जितेको छ, तीमध्ये ९ जना (५० प्रतिशत) महिला छन् । जसपाले १७ पालिकामा उपप्रमुख जितेकामा १५ (८८ प्रतिशत) र लोसपाले ७ उपप्रमुख जितेकामा ४ जना (५७ प्रतिशत) महिला निर्वाचित भएका छन् ।