आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

देशैभरी उत्साहका साथ मतदान हुँदै, नेताहरुले कहाँ-कहाँबाट गरे मतदान ?

गोकर्णेश्वर खबर३० बैशाख २०७९, शुक्रबार ११:४७ मा प्रकाशित (१ साल अघि) ३५१ पाठक संख्या

३० वैशाख, काठमाडौं । आज देशैभरी उत्साहका साथ मतदान भइरहेको छ । केही स्थानमा बिहान ७ बजेदेखि नै मतदान शुरु भएको थियो भने केही केन्द्रमा केही ढिलो गरी मतदान शुरु भएको हो ।

देशैभरी मतदान स्थलमा मतदाताको चहलपहल छ भनें केही स्थानमा विवाद र झडपले मतदान कार्य अवरुद्ध भए पनि विगतका वर्षको तुलनामा यस पटक देशै भरी शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ ।  मतदाताहरुले पनि उत्साहित भई मतपेटिकामा मत खसालिरहेका छन् ।

प्रमुख नेताहरुले कहाँ-कहाँबाट गरे मतदान ? 

कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला मोरङबाट मतदान गरेका छन् । मोरङको विराटनगर महानगरपालिका– ७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्र (क)मा शुक्रबार विहान ८ः३० बजे मतदान गरेका हुन् । कोइरालाको निर्वाचन क्षेत्र पनि मोरङ– ६ नै हो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसैगरी, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट मतदान गरेका छन् । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौंपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रबाट भोट हालेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले झापामा मतदान गरेका छन् । अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र र संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङले इलामबाट मतदान गरेका छन् । नेता खनालले सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत विद्यालयबाट बिहान मतदान गरेका हुन् ।

यस्तै नेम्वाङले इलाम नगरपालिका १० मार रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गरेका छन् । यस्तै प्रदेश १ की पर्यटनमन्त्री खिनु लङवा लिम्बुले सूर्योदय ३ बाट मतदान गरेका छन् ।