आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

स्थानीय निर्वाचन आज

गोकर्णेश्वर खबर३० बैशाख २०७९, शुक्रबार ०८:०७ मा प्रकाशित (१ साल अघि) ७१७ पाठक संख्या

३० वैशाख, काठमाडौं । स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा आज भईरहेको छ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज शुक्रबार बिहान ७ बजेबाट शुरु भईसकेको छ ।

देशभरका ७५२ स्थानीय तहमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् । तीमध्येबाट कुल ३४ हजार ६६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् ।

निर्वाचनको क्रममा ३९० जना निर्विरोध निर्वाचित भएका छन् । १७० जना दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । मनाङको मार्फाभूमि वडा नं. १ मा महिला सदस्यका लागि उम्मेदवारी परेन । एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला र ८९ लाख ८२ हजार दस पुरुष तथा १८३ जना अन्य लिङ्ग समूहका मतदाता छन् ।