आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

‘राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन’ : प्रधानमन्त्री देउवा

गोकर्णेश्वर खबर२१ बैशाख २०७९, बुधबार १९:०६ मा प्रकाशित (१ साल अघि) १९२ पाठक संख्या

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताएका छन् । ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गरे ।

सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पारेका छन् । अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको फल गाउँ तहसम्म पु¥याउन गठबन्धन बनेको धारणा राखे ।

देउवाले नेपाली कांग्रेसले धोखा खाए पनि कसैलाई पनि धोखा नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँमा पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताए ।

प्रधानमन्त्री देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु पाँच हजार भत्ता दिएको जानकारी दिए । स्थानीय तहलाई सम्पूर्ण अधिकार दिने भन्दै प्रधानमन्त्री देउवाले पहाड र मधेश मिलेर देश निर्माण गर्ने सङ्कल्प लिएको चर्चा गरे ।