आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

देशव्यापी बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने

गोकर्णेश्वर खबर२० बैशाख २०७९, मंगलवार २१:४२ मा प्रकाशित (१ साल अघि) ७१४ पाठक संख्या

२० वैशाख, काठमाडौं । देशव्यापी रुपमा बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ।

सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएका कारण बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने इन्टरनेट सेवा प्रदायक संघ नेपालले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण इन्टरनेट काटिने अवस्थामा पुगेको थियो।

गत शनिबार इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको थियो।

सोमबार आइस्पानका प्रतिनिधि र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटबार्ता भएको थियो । भेटमा मन्त्री कार्की सकारात्मक देखिएपछि समस्या समाधान हुने अवस्था आएको आइस्पानका अध्यक्ष पराजुलीले बताएका हुन्।

‘मन्त्री ज्यूसँग हिजो बेलुका कुराकानी भएको थियो कुराकानीकामा उहाँले कुनै पनि हालतमा इन्टरनेट काटिनु हुँदैन त्यसका लागि मन्त्रालयले के गर्नु पर्छ त्यो गर्न तयार छ भनेर भन्नु भएको छ।’ उनी भन्छन्, ‘उहाँले भेटका क्रममा इन्टरनेट काटिनु हुँदैन बरु त्यसका लागि विदेशी मुद्राको सम्बन्धमा के गर्नु पर्छ त्यो काम हामी गर्छौं भन्नु भएको छ।’

कम्पनीले विगत ६ महिनादेखि भारतीय कम्पनीलाई शुल्क भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको उनले बताएका छन्।

हामीले जो बाट इन्टरनेट खरिद गर्दै आएका थियौं उहाँहरुले नेपालबाट विगत ६,७ महिनादेखि भुक्तानी भएको छैन यस्तो हो भने हामी इन्टरनेट दिन सक्दैनौं भन्नुभएको थियो त्यसैले इन्टरनेट बन्द हुने अवस्थामा पुगेको थियो।’

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन्।