आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

आज काठमाडौं महानगरपालिकाका लागि १६ जनाको मेयर पदमा उम्मेदवारी दर्ता

गोकर्णेश्वर खबर११ बैशाख २०७९, आईतवार २०:५९ मा प्रकाशित (१ साल अघि) ८०९ पाठक संख्या

११ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ का लागि आज काठमाडौं महानगरपालिकाका लागि १६ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा गृहमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा ४ जना महिला र १२ जना पुरूषले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठकाअनुसार पार्टीको प्रतिनिधित्व गर्दै ७ जनाले र स्वतन्त्र रूपमा ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसरी मनोनयन दर्ता गराउने पार्टीहरूमा विवेकशील साझा पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल समावेशी पार्टी, मौलिक जरोकिलो पार्टी, सचेत नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी छन् ।

यससँगै उपमेयर पदमा १७ जनाले मनोनयन दर्ता गराएका छन् । यसैगरी वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ७ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

निर्वाचन तालिकाअनुसार भोलि ५ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ ।

वैशाख १३ बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ ।

१५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

१६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ ।