आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वरमा देशकै अत्याधुनिक फोहोर मैला व्यवस्थापन गर्ने इन्सिनेटर मेशिन सञ्चालन

गोकर्णेश्वर खबर२५ चैत्र २०७८, शुक्रबार ०८:५८ मा प्रकाशित (१ साल अघि) ७९६ पाठक संख्या

२५ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा बिहिबारबाट अत्याधुनिक फोहोर मैला व्यवस्थापन गर्ने मेशिन सञ्चालन शुभारम्भ भएको छ । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सन्तोष चालिसेले देशमै पहिलो र अत्याधुनिक फोहोरमैला व्यवस्थापन गर्ने कार्य गोकर्णेश्वरमा शुरु भएकोमा खुसी व्यक्त गरे ।

चालिसेले जापानबाट ल्याईएको इन्सिनेटर मेशिन सञ्चालनमा आए पछि गोकर्णेश्वर नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सहज हुने बताए । उनले अझै केही मेशिन थप गर्न सके नगरपालिका भित्र निस्कने सबै फोहोरको राम्रोसँग व्यवस्थापन हुने बताए ।

वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले अत्याधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्दा त्यसको वातावरणीय असर नहुने र मानव स्वास्थ्यमा पनि नराम्रो असर नगर्ने भएकोले नेपालमा यस्ता प्रविधिमा ध्यान दिनु पर्ने बताए । उनले इन्सिनेटरबाट फोहोर व्यवस्थापन मात्र नभई यसको बहु उपयोग हुन सक्ने भएकोले त्यसको सदुपयोग गर्न सके प्रविधि महंगो नहुने बताए ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सहितको टोली जापान गई अत्याधुनिक जापानी प्रविधियुक्त र जापानमा व्यापक प्रयोगमा रहेको इन्सिनेटर मेसिन नेपालमै पहिलो पटक फोहोरमैला व्यवस्थापनका लागि भित्राएका हुन् । अहिले यो गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को सीमाना बागमती नदी किनारमा स्थापना गरिएको छ ।

बिहिबार वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले संयुक्त रुपमा इन्सिनरेटर मेसिन संचालनको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रमलाई उपमेयर शान्ति नेपाल, नगर प्रवक्ता तथा गोनपा ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, नगर खेलकुद संयोजक सञ्जय लामाले सम्बोधन गरेका थिए ।

शुभारम्भ कार्यक्रम वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको सभापतित्वमा भएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, वडा अध्यक्षहरु राम मानन्धर, राजेन्द्र भण्डारी, श्रीकुमार श्रेष्ठ, नारायण बहादुर सुवेदी, रमेश अर्याल, केशव गुरुङ, राजिव थापाका साथै नगरपालिकाका विभिन्न शाखा प्रमुखको आतिथ्यता तथा सरोकारवालाको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरेले गरेका थिए ।

फोहोर मैला व्यवस्थापन गर्ने इन्सिनेटर मेसिन सञ्चालन व्यवस्थापन कार्य हिटा हेभि मेशिनरी एण्ड रिसाईकल प्रा.लि.बाट हुनेछ ।