आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणीय प्रधानमन्त्री : मोदी

गोकर्णेश्वर खबर१९ चैत्र २०७८, शनिबार १९:२३ मा प्रकाशित (१ साल अघि) ४३४ पाठक संख्या

१९ चैत, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन् ।

दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन् ।

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै मोदीले “अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ” भनें । प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवा भारतका पुराना मित्र भन्दै भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन श्री देउवाले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

आफ्नो पहिलो कार्यकालदेखि नै ‘छिमेक पहिले’ अर्थात् छिमेकीसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्नुभएका भारतका प्रधानमन्त्री मोदीले नेपालसम्बन्धी भारतको नीति आत्मीयताले प्रेरित छ भनें । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको प्रतिबद्धता पनि प्रधानमन्त्री मोदीले व्यक्त गरे ।