आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

माकलबारीमा बन्ने वागमति ड्याम उपत्यकाकै नौलो आयोजना : मेयर सन्तोष चालिसे

गोकर्णेश्वर खबर१६ चैत्र २०७८, बुधबार ०८:१३ मा प्रकाशित (२ साल अघि) ५७७ पाठक संख्या

१६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले माकलबारीमा वागमतिमा बन्ने ड्याम उपत्यकाकै नितान्त नौलो आयोजना भएको बताएका छन् ।

मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं. ८ माकलबारी स्थित वागमति नदीमा निर्माण गरिने मोटरेबल पक्की पुल र वागमती ड्याम (स्टिमर संचालन) आयोजनाको शिलान्यास पछि सम्बोधन गर्दै सो बताएका हुन् ।

मेयर चालिसेले वागमति ड्याम गोकर्णेश्वर नगरपालिकाको गौरवशाली कार्यक्रम भएको दावी गरे । उनले भनें- ‘वागमति ड्याम नगरपालिकाको गौरवशाली कार्यक्रममा पर्छ । यो उपत्यकामा कहिं पनि नभएको नितान्त नौलो कार्यक्रम मध्येको कार्यक्रम हो । यस योजना बने पछि वागमतिलाई सरोवर बनाएर सिंगापुरबाट ल्याईने स्टिमर चल्नेछ ।’

मेयर चालिसेले स्टिमर चल्न थालेपछि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने र नगरपालिकाले टेण्डर मार्फत भाडामा स्टिमर चलाउन दिएर नगरपालिकाको आम्दानी बढ्ने बताए । उनले यसका लागि आवश्यक पानी गोनपा १ मा ७ सय रोपनीमा बनिरहेको धाप ड्यामले २४ घण्टा वागमतिमा पानी बग्नेछ । यसबाट वागमति स्वच्छ हुनाको साथै स्टिमर पनि नियमित हुने बताए । यसका लागि मेयर चालिसेले गुणस्तरीय निर्माण सहित समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराए । उनले परियोजना सम्पन्न गर्न आ आफ्नो ठाउँबाट सहयोग गर्न समेत सबैलाई आग्रह गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ माकलबारीमा बागमति नदीमा निर्माण गरिने मोटरेबल पक्की पुल र बागमती ड्याम (स्टिमर संचालन) आयोजनाको मंगलबार मेयर चालिसेले छुट्टाछुट्टै शिलान्यास गरेका थिए ।

सो अवसरमा नगर प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले आयोजनाले गोकर्णेश्वरको पहिचान र आर्थिक विकासमा टेवा दिने भएकोले आयोजना गुणस्तरीय रुपमा समयमै निर्माण सम्पन्न हुनु पर्ने बताए ।

विधिपूर्वक पूजा गरी गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसे पुल र ड्यामको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ, गोनपा १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ७ का अध्यक्ष केशव गुरुङ, वडा नं. ९ का अध्यक्ष राजिव थापा, वडा नं. ४ का वडा सदस्य जयराम महत, गोनपाका प्रमुख सल्लाहकार दीपक रिसाल, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, विभिन्न शाखाका प्रमुख, माकलबारी टोल सुधार समितिका अध्यक्ष समाजसेवी पेमा छिरि शेर्पा लगायत उल्लेख्य संख्यामा स्थानीय वासीन्दाको उपस्थितीमा पुल शिलान्यास कार्यक्रम भएको थियो ।

गोकर्णेश्वर नगरपालिकाबाट ठेक्का प्रक्रियाको माध्यमबाट पुल र ड्यामको निर्माण प्रक्रिया अघि बढिसकेको छ ।