आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पानीको मूलमुनिका बासीन्दाले पानी खान नपाउने नीति गलत : सन्तोष चालिसे

गोकर्णेश्वर खबर९ चैत्र २०७८, बुधबार ०९:५६ मा प्रकाशित (२ साल अघि) ८३९ पाठक संख्या

९ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले पानीको मूलमुनिका बासीन्दाले पानी खान नपाउने नीति गलत भएको बताएका छन् । विश्व पानी दिवसका अवसरमा मंगलबार खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले सुन्दरीजल मेलम्चि आयोजनाको कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चालिसेले सो धारणा व्यक्त गरेका हुन् ।

मेयर चालिसेले गोकर्णेश्वर नगरपालिकाबाट उपत्यकामा पानी जाने गरे पनि यहींका बासिन्दाले त्यसको उपयोग गर्न नपाएकोमा गुनासो गर्दै नगरवासीले पानी खान पाउने व्यवस्था गर्न मन्त्रालय लगायत सरोकारवाला अधिकारीहरुलाई ध्यानाकर्षण समेत गरे । उनले मूलमुनि रहेका वासीन्दाका लागि खानेपानी नभएकाले पानीको व्यवस्था गर्न मन्त्रालयसँग माग गरे । मेलम्चीको पानी पनि सुन्दरीजलमै प्रशोधन भएर उपत्यकामा वितरण हुन जाने भए पनि सुन्दरीजलवासी पानी हेरेरमात्र बस्ने गरी बनाइएको नीति गलत रहेको चालिसेको भनाई थियो ।

दीर्घकालिन सोच विनाको विकासले देश अगाडी बढ्न नसकेकोमा जोड दिंदै चालिसेले आफ्नै नगरभित्रको आयोजनाको पानी नगरवासी स्वयंले खान नपाउनुको पिडा सरकारले बुझेर आवश्यक नीति बनाउन सुझाव दिए । उनले देशमा नीति योजनामा देखिएको गल्तिले नागरिकले दुख पाईरहेको बताए । दीर्घकालिन सोच विना हचुवामा काम गर्ने जागिरे विज्ञका कारण देशको विकासले सही दिशा लिन नसकेको आरोप समेत लगाए ।