आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

६५ वर्ष पुगेका पत्रकारले ज्येष्ठ पत्रकार वृत्ति पाउने

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७८, बिहीबार ०९:३८ मा प्रकाशित (२ साल अघि) ५३८ पाठक संख्या

१९ फागुन, काठमाडौं । सरकारले ६५ वर्ष पुगेका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने भएको छ । फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति पाउने भएका हुन् ।

सरकारले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघले यसको स्वागत गरेको छ । महासंघले पूर्ण कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गरेको छ ।

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको हो ।

नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो ।

सरकारको निर्णय स्वागतयोग्य भएको महासंघका महासचिव रोशन पुरीले बताउनुभयो । सरकारको निर्णय सार्वजनिक भएपछि विज्ञप्ति सार्वजनिक गर्दै पुरीले यसको स्वागत गर्नुभएको हो । कोष सञ्चालन मापदण्डका कतिपय प्रावधानलाई सरलीकृत गर्नुपर्ने भन्दै महासंघले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।