आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

युक्रेनमाथी रुसले युद्ध अपराध गरेको जेलेन्स्कीको आरोप

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७८, बुधबार ०८:१६ मा प्रकाशित (२ साल अघि) ८१ पाठक संख्या

१८ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिभिर जेलेन्स्कीले रुसमाथि युद्ध अपराधको आरोप लगाएका छन् । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएपछि जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।

मंगलबार रुसले खार्किभको सेन्टर स्क्वायरसहितलाई निशाना बनाएर गोलाबारी तथा हवाई आक्रमण गरेको हो । त्यहाँको फ्रिडम स्क्वायरमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

यस्तै रुसले त्यहाँको ओपरा हलमा गरेको आक्रमणमा अरु ३५ जना घाइते भएका छन् । रुसले खार्किभको फ्रिडम स्क्वायरमा रहेका सरकारी भवनहरुलाई पनि निशाना बनाएको छ ।

उनले भने, ‘यो आक्रमण युक्रेनविरुद्धको आतंक हो । स्वतन्त्रतामाथिको प्रहार हो । कुनै पनि सैन्य निशाना थिएन ।’

युरोपियन संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युरोपियन युनियन युक्रेनको साथमा रहेको प्रमाणित गरेर देखाउन आग्रह गरे ।

खार्किभमा गरेको आक्रमणपछि रुसले राजधानी किएभमा रहेको टेलिभिजन टावरमा आक्रमण गर्दा प्रशारण अवरुद्ध भएको छ ।

सो आक्रमणमा पाँचजनाको मृत्यु भएको युक्रेनी अधिकारीले बताएका छन् । रुसी आक्रमणपछि पनि टेलिभिजन टावर भने खडा नै छ ।