आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

एमसीसी पारित भएपछी अमेरिकाको स्वागत

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७८, सोमबार ०७:३७ मा प्रकाशित (२ साल अघि) ३३१ पाठक संख्या

१६ फागुन, काठमाडौं । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो ।

विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ। अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने पनि जिकिर गरेको छ ।

‘एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो,’ दूतावासले भनेको छ, ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्नेछ ।’