आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बीमा

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार ०८:४९ मा प्रकाशित (२ साल अघि) ५७९ पाठक संख्या

१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि कर्मचारी बीमा प्रक्रिया सुरु गरेको छ । आयोगका पदाधिकारी तथा निर्वाचनमा खट्ने एक लाख १० हजार ७१३ जना कर्मचारीका लागि बीमा प्रस्ताव आह्वान गरेको आयोगले जनाएको छ । निर्वाचन अवधिमा खटिएका कर्मचारीको २० लाख बीमा गरिएको छ ।

निर्वाचनमा मतदान, मतगणना र अन्य प्राविधिक कार्यका लागि मात्रै करिब दुई लाख ५० हजार कर्मचारी नियुक्त हुनेछन् । स्वयंसेवीले भने बीमाको सुविधा नपाउने भएका छन् ।

फागुन १६ गतेभित्र आइपुग्ने गरी बीमा कारोबार गर्ने संस्थाबाट प्रस्ताव आह्वान गरिएको भईसकेको छ । प्रस्ताव आएको दुई÷तीन दिनभित्रै संस्था छनोट गरी बीमा प्रक्रिया टुङ्गिने छ । आयोगको स्थायी दरबन्दीसँगै अस्थायी र निर्वाचन अवधिभर मात्रै खट्ने करारका कर्मचारीका लागि बीमा प्रस्ताव आह्वान गरेको हो ।

आयोगका अनुसार, आयोगका पदाधिकारी तथा केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको हकमा १०४ दिनका लागि बीमा गर्नुपर्ने अवधि तय गरेको छ । तीनवटै संरचनाका करिब नौ सय कर्मचारीको बीमा गरिनेछ । निर्वाचनमा खटिने कर्मचारीको जनही २० लाख रुपियाँको बीमा हुनेछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ३६ ले आयोगले निर्वाचनको काममा संलग्न पदाधिकारी, कर्मचारी वा शिक्षकको निर्वाचन अवधिभर हुने दुर्घटनाका लागि बीमा गरिदिनुपर्ने उल्लेख छ ।

आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खट्ने ६ हजार ७७७ जना कर्मचारीका लागि ७० दिन, मतदान केन्द्रमा खट्ने ९४ हजार कर्मचारीका लागि १५ दिन र मतगणनामा खटिने नौ हजार ३६ जना कर्मचारीका लागि १० दिनका लागि बीमा गर्नुपर्नेछ ।