आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

श्रद्धाञ्जलीका लागि गायक लामाको पार्थिव शरीर राष्ट्रिय नाचघरमा राखिने

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार ०८:१० मा प्रकाशित (२ साल अघि) ४९९ पाठक संख्या

काठमाडौं । गायक तथा कलाकार जयनन्द लामाको शव आज राष्ट्रिय नाचघर जमलमा राखिँदै छ।

कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि बिहान १० बजे उनको शवलाई राष्ट्रिय नाचघरमा राख्न लागिएको हो।

यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गायक लामाको निधनप्रति दुःख व्यक्त गरेका थिए।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।

प्रहरीका अनुसार लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो।

प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।

लोक गायक तथा अभिनेता जयनन्द लामाको मृत्युको कारण के हो, अहिले नै पोष्टमार्टम रिपोर्ट आइसकेको छैन।

तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु ‘आकस्मिक दुर्घटना’बाट भएको देखाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बुधबार बिहान ७ बजे लामाको शव उनकै घरअगाडि फेला परेको थियो। ६६ वर्षीय लामाका दुबै खुट्टा कारमा अड्किएका थिए, शरीर घोप्टो परेको अवस्थामा भुइँमा बजारिएको थियो।

उनी बा ३ च ७७४१ नम्बरको कारमा सवार थिए। उनको शरीरका अन्य भागमा चोटपटक देखिँदैन। भुइँमा बजारिँदा टाउकोमा भने चोट देखिन्छ।

‘दुबै खुट्टा चालकको सिटमुनि छन्, दाहिने चल्नीमा चोट देखिन्छ, दाहिने हातमै कारको चाबी थियो,’ श्रेष्ठले भने, ‘चोटबाट रक्तश्राव भएको छ।’

मध्यपुरथिमी नगरपालिका १ लोकन्थलीस्थित घरअगाडि लामालाई बिहान सुरूमा आफन्तले नै फेला पारेका थिए। लामाले जहाँले घरको गेटमा जहाँ गाडी रोके, घटना त्यहीँ भएको देखिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार लामाले आफैं कार हाँकेका थिए। चालकको सिटमा उनले बान्ता गरेको भेटिएको छ।

अनुसन्धान गर्दा प्रहरीले सिसिटिभी फुटेज पनि हेरेको छ। तर प्रहरीले उनी कुन समय घर आइपुगेको भन्ने खुलाएको छैन। केही ठाउँमा राखिएका फुटेज हेर्दा उनी एक्लै घरसम्म आएको थियो।

‘राति १ बजेसम्म घर नआएको देखिन्छ, परिवारले थाहा नपाएको अवस्था छ,’ श्रेष्ठले भने, ‘शोकमा रहेकाले अहिले परिवारसँग सबै कुरा सोध्ने अवस्था छैन।’

लामाको हातमा कारको चाबी थियो।

‘रिंगटा लागेर वान्ता भएको र त्यही कारण अचानक लड्न पुगेको अनुमान लगाउन सकिन्छ,’ श्रेष्ठले भने, ‘तर पोष्टमार्टम रिपोर्ट नआइकन ठ्याक्कै यही हो भनेर मृत्यु कारण यकिन गर्न सकिँदैन।’

श्रेष्ठका अनुसार उनको शव काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा पोष्टमार्टम गरिएको छ। पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन्।

लामा मंगलबार बेलुका बौद्धमा मिटिङ रहेको भन्दै घरबाट निस्केका थिए। राति अबेरसम्म बौद्धमा उनी साथीभाइसँग भेटघाटपछि आफैं कार हाँकेर घर फर्केका थिए।

उनी बौद्धमा कसलाई भेट्न गएका थिए, कतिबेर त्यहाँ बसेर कस्तो अवस्थामा फर्किएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

‘अनुसन्धान सकिएपछि विस्तृत रिपोर्ट बाहिर ल्याउँछौं, उहाँ कति बेला घरबाट निस्किनुभएको थियो, कतिबेरसम्म कुन ठाउँमा बस्नुभयो भन्ने अहिले अनुसन्धान भइरहेको विषय छ,’ श्रेष्ठले भने।