आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

चैतमा राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी

गोकर्णेश्वर खबर२६ माघ २०७८, बुधबार ०८:४० मा प्रकाशित (२ साल अघि) ३६१ पाठक संख्या

२६ माघ, काठमाडौं । मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पु–याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ । गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार मुहानस्थल अम्बाथान मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको छ । बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटरसम्म पुरिएको थियो । चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गतेदेखि उक्त काम गरिरहेको छ ।

बाढीले आयोजनाको मुख्य प्रवेशमार्गको आठ किलोमिटर सडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो । चनौटेसम्मका सडक आंशिक क्षति गरेको थियो । चनौटेबाट अम्बाथान पुग्ने आठ किमि सडक र पक्की पुल बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको थियो । नदीको सतहबाट दुई किमिसम्म ढुङ्गा, गिट्टी, बालुवालगायतका पदार्थले पुरिएको छ ।

हाल १२ वटा डोजर, स्काभेटर र २२ वटा टिप्पर प्रयोग गरेर आयोजनास्थलमा जम्मा भएका गेग्य्रान, बालुवा, ढुङ्गा हटाउने काम भइरहेको छ । मुहानस्थल अम्बाथान बालुवा, गिट्टी भेटिएको छ तर तल्लो क्षेत्रमा ठूलाठूला ढुङ्गा भेटिएपछि विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । ढुङ्गा फुटाउन नेपाली सेनासँग विस्फोटक पदार्थ माग गरिएको छ ।

आयोजनास्थल माथि भे्रमाथाङलगायतका क्षेत्रमा अहिले एडीबी र नेपाल सरकारको संयुक्त टोलीले भू–संरचना र जोखिम मूल्याङ्कनको काम गरिरहेको छ । उक्त टोलीको प्रतिवेदन प्राप्त हुनासाथ स्थायी संरचना निर्माणबारे टुङ्गो लाग्ने र अहिले अस्थायी रूपमा उपत्यकामा पानी लैजान काम भइरहेको छ ।

प्रतिवेदनमा मुख्य बाँधस्थल सार्नुपर्ने देखिए, अझै बाढी पहिरो आउन सक्ने देखिए मर्मत सम्भार गर्नुको औचित्य नहुने र सोही कारण पनि अस्थायी रूपमा पानी राजधानी लैजान लागेको उहाँको भनाइ छ । अम्बाथान हेडवक्र्समाथिका भागमा जोखिम कायमै रहेको, मनसुनमा आउने परिवर्तन प्रतिकूल भइरहेकाले अहिले नै स्थायी संरचना बनाउन नसकिएको आयोजनाले जनाएको छ ।