आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नारायणहिटीको बगैँचा र बङ्कर पुनर्निर्माण हुने

गोकर्णेश्वर खबर२५ माघ २०७८, मंगलवार ०८:०० मा प्रकाशित (२ साल अघि) २१९ पाठक संख्या

२५ माघ, काठमाडौं । नारायणहिटीपरिसरमा रेस्टुरेन्ट बनाउन बतास समुहले पुरानो संरचनालाई फेरबदल गरेको बगैँचा र बङ्कर पुनर्निर्माण हुने भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयपरिसरमा रहेको बगैँचा र बङ्कर पुनर्निर्माण हुने भएको हो ।

बगैँचा मासेर रेस्टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा समन्वय सञ्चालक समितिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको बगैँचा पुरानै स्वरूपमा निर्माण गर्ने जनाएको छ ।

सङ्ग्रहालयलाई थप आकर्षक बनाउने विषयमा छलफल भइरहेको छ । त्यत्तिकै छोडे फेरि बेबारिसे हुने भएकोले बगैँचालाई पुनर्निर्माण गर्ने तयारी भएको हो । नारायणहिटीपरिसरको बगैँचा र बङ्करसमेत मासेर बतास समूहलाई रेस्टुरेन्ट बनाउन दिइएको समाचारपछि बगैँचा र बङ्करप्रति आमचासो बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दरबारभित्रको ऐतिहासिक ‘बगैँचा र बङ्कर’ मासेर रेस्टुरेन्ट निर्माणकार्यमा रोक लगाई निर्माणाधीन संरचना तत्काल भत्काउन निर्देशन दिनुभएको थियो । त्यसअघि मन्त्रालयका सहसचिव होमकुमार लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र रेस्टुरेन्ट निर्माणकार्यमा संलग्न बतास समूहलाई दोषी देखाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरेको हो ।

बतास समूहले ‘क्यान्टिन तथा कफिसप’ सञ्चालनका नाममा बगैँचालगायतका संरचना मासेर १४ रोपनीमा रेस्टुरेन्टका लागि नयाँ संरचना निर्माण गरेपछि मन्त्रालयले निर्माणकार्य रोक्नका साथै संरचना भत्काउन निर्देशन दिएको थियो ।