आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

काठमाडौं महानगरपालिकाले फाइजरको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने

गोकर्णेश्वर खबर२३ माघ २०७८, आईतवार ०८:४० मा प्रकाशित (२ साल अघि) १५३ पाठक संख्या

२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला खोप समन्वय समिति काठमाडौंको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।

खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ । कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ । माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहिले क्रमिक रुपमा घटिरहेको छ ।