आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीमाथि अनुसन्धान गर्न सिफारिस

गोकर्णेश्वर खबर२३ माघ २०७८, आईतवार ०८:०० मा प्रकाशित (२ साल अघि) २०४ पाठक संख्या

२३ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले गरेको भ्रष्टाचार छानबिन गर्न गठित उपसमितिले अनुसन्धान गर्न सिफारिस गरेको छ । उनी आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको समितिले निष्कर्ष निकालेको छ । र, थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्न सिफारिस गरेको छ ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित उपसमितिले बोर्डका कार्यकारी प्रमुख रेग्मी ‘आर्थिक अनियमितता’मा संलग्न रहेको निष्कर्ष निकालेको हो । उपसमितिले रेग्मीले बोर्डमा गरेका आर्थिक अनियमितता, गैरकानूनी क्रियाकलाप अनि भन्सारका कर्मचारीमाथिको दुव्र्यवहार र सुन चोरी पैठारीजस्ता घटनाले रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी पदमा रहिरहन उपयुक्त नहुने सुझाव दिएको हो ।

रेग्मीले गरेका आर्थिक अनियमितताका सम्बन्धमा अनुसन्धानात्मक कारवाही गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्ने भनि छानबिन प्रतिवेदनको सिफारिस खण्डमा भनिएको छ । यसैगरी रेग्मीले गरेका अनुचित र कानून प्रतिकूल आचरणका सम्बन्धमा बोर्डले उपयुक्त निर्णय गर्नुपर्ने देखिन्छ भनिएको छ ।