आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सुदूरपश्चिममा वर्षासँगै हिमपात,राजमार्गहरु अवरुद्ध

गोकर्णेश्वर खबर२१ माघ २०७८, शुक्रबार ११:५९ मा प्रकाशित (२ साल अघि) १६३ पाठक संख्या

धनगढी । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको छ । प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, डोटी लगायतका जिल्लाका उच्च हिमाली र पहाडी क्षेत्रमा बिहीबार वर्षासँगै हिमपात भएको हो ।

हिमपातपछि बढेको चिसोले यी जिल्लाको जनजीवन प्रभावित बनेको छ भने ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न सकेका छैनन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातले पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको छ ।

सुदूूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा तराईबाट पहाड जाने र तराई झर्ने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीकाअनुसार डोटीको गैरा र डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै बैतडीमा अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ लगायतका ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ भने बझाङमा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध छ ।

हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा यो वर्ष हिमपात भएको यो तेस्रोपटक हो । गत पुस र माघ दोस्रो हप्ता पनि यहाँ हिमपात भएको थियो ।