आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

पर्यटन बोर्डका सीईओ रेग्मीले अनियमितता गरेको छानबीन समितिको निष्कर्ष

गोकर्णेश्वर खबर१८ माघ २०७८, मंगलवार १७:१३ मा प्रकाशित (२ साल अघि) १६७ पाठक संख्या

१८ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले अनियमितता गरेको प्रतिवेदन बुझाएको छ । समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सीईओ रेग्मीमाथि नैतिक प्रश्नदेखि आर्थिक अनियमिततामा मुछिएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनअनुसार २०७४ सालमा सुनको अवैध ओसारपसारमा कारवाही भोगेको घटना लुकाएर बोर्डलाई गुमराहमा राखेको समेत देखिएको छ । यसलाई उनको नैतिक प्रश्नसँग जोडेर प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका साथै, वर्ल्ड टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवाना समेत तिरेका कारण उनको कसुर पुष्टि भएको घटनालाई नैतिक प्रश्नका रुपमा लिइएको छ । उनको साथमा रहेका रहेका रक्सीको बातल कानूनले तोकेभन्दा बढी रहेको विषयमा समेत प्रश्न उठाइएको छ ।

डब्यूटीएममा सहभागी हुँदा निजी क्षेत्रबाट मात्र ६ व्यवसायी सहभागी भएको र खर्च भने १ करोड भन्दा माथि उठेको विषयमा समेत आर्थिक अनियमितताका रुपमा हेरिएको छ । यस्ता मेलामा व्यवसायी आफ्नै खर्चमा जाने गरेका छन् ।

बोर्डमा सीईओको कार्यकक्ष मर्मत गर्दा कागजात मिलाएर आर्थिक अनियमितता गरेको बारेमा प्रतिवेदनमा उल्लेख गरेको छ । छानविन समितिले विभिन्न खालका अनियमितता देखिएको विषयमा अनुसन्धान गरि कारवाही अगाडि बढाउन सिफारिस समेत गरेको छ ।

२० कात्तिकमा लण्डनबाट फर्कंदा विमानस्थलमा भन्सारका नासुसँग झगडा गरेपछि सीईओ रेग्मी विवादमा मुछिएका हुन् । उनले विमानस्थल भन्सारमा ५ हजार जरिवाना तिरेर छुटेका थिए । बोर्डले २ पुसमा उनीमाथि छानविन गर्न समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

पछि उनले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर सीईओका रुपमा काम गरिरहेका छन् । छानविन प्रतिवेदनबारे अध्ययन गरी बोर्डले आवश्यक कदम चाल्न सक्नेछ ।