आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

पशुपति धर्मशालामा बतासलाई होटल खोल्न दिने सम्झौता रद्द

गोकर्णेश्वर खबर१२ माघ २०७८, बुधबार ०९:१३ मा प्रकाशित (२ साल अघि) १९२ पाठक संख्या

१२ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रालयले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले मङ्गलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी दिएका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताए । मन्त्री आलेले छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेकोले अब धर्मशाला बतास समूहले सञ्चालन नगर्ने बताए ।

पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

पशुपति विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको आफैँ गएर अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको सङ्ख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो ।