आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बाढीले क्षतिग्रस्त मेलम्चीको पुनर्निर्माण सुरु

गोकर्णेश्वर खबर१२ माघ २०७८, बुधबार ०९:०८ मा प्रकाशित (२ साल अघि) ९१ पाठक संख्या

१२ माघ, काठमाडौं । बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको पुनर्निर्माण पुनः सुरु भएको छ । काठमाडौंवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो ।

ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता राष्ट्रका नाममा सम्बोधन गर्दै पुर्न निर्माणलाई तिव्रता दिएर एक वर्ष भित्र मेलम्चीको पानी पुनः काठमाडौँमा ल्याउने बताएका थिए । यसैगरी,

मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन तयार पारिएको कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने डेढ अर्ब रुपियाँका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ ।

यसअघि तीन महिनासम्म अस्थायी सुरुङमार्फत मेलम्चीको पानी काठमाडौँमा ल्याइएको थियो । बाढीले केही भाग पुरिएको अस्थायी सुरुङलाई सफा गरेर पुनः पानी ल्याइने छ । त्यसैगरी पानी ल्याउन बालुवा ढुङ्गाले पुरिएको ‘हेडवक्र्स’लाई समेत सफा गर्नुपर्ने हुन्छ । अस्थायी सुरुङ करिब दुई मिटर पुरिएको छ भने मुख्य सुरुङ सुरक्षित रहेको छ । अहिलेसम्म करिब ३५ अर्ब रुपियाँ लगानी भइसकेको छ ।