आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा सत्ता गठबन्धन अगाडि,एमालेलाई प्रदेश १ मा आस

गोकर्णेश्वर खबर१२ माघ २०७८, बुधबार ०८:४५ मा प्रकाशित (२ साल अघि) ४३८ पाठक संख्या

काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । नतिजा आजै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा हाल सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन् । राप्रपाले प्रदेश १ मा बाहेक अन्त मतदान नगर्ने निर्णय गरेको छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार हेर्दा सत्ता गठबन्धन सात वटै प्रदेशमा अगाडि देखिएको छ ।

प्रदेश १ मा एमालेभन्दा सत्ता गठबन्धन १४४ मतभारले मात्रै अगाडि छ । एमाले नेताहरुले पनि अन्य प्रदेशमा हार्ने निश्चित भए पनि प्रदेश १ मा भने जित्न सकिने सम्भावना रहेको भन्दै प्रयास जारी राखेका छन् ।

प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख,उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् । ३ सय ६७ मतदातामध्ये तीन सदस्य रिक्त छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख,उपप्रमुखको मतभार १८ हुन्छ ।

प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख÷उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४ हजार ६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख÷उपप्रमुख रहेको एमालेको मतभार ४ हजार ५२४ छ । यसरी एमाले सत्ता गठबन्धन भन्दा १४४ मतभारले मात्रै पछाडि छ ।