आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

राष्ट्रिय सभा निर्वाचन : बिहान ९ बजेदेखि मतदान

गोकर्णेश्वर खबर१२ माघ २०७८, बुधबार ०८:१२ मा प्रकाशित (२ साल अघि) २४० पाठक संख्या

काठमाडौं । रिक्त १९ पदका लागि आज राष्ट्रिय सभा निर्वाचन हुने भएको छ।

बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको निर्वाचन आयोगले जानकारी दिएको छ।

सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान हुनेछ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य गरी कूल २०२५ जना मतदाताले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउनेछन्।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन्।

रिक्त १९ पदका लागि सत्तागठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमालेसमेत गरी १२ दलले उम्मेदवार उठाएका छन्। सत्तागठबन्धनका ५ दलले १९ पद भागबन्डा गरेर उम्मेदवारी दिएका छन् भने एमालेले १९ पदमै उम्मेदवार उठाएको छ।

अरू दलले भने सबै प्रदेशमा उम्मेदवार उठाएका छैनन्। राप्रपाले प्रदेश १ मा आफ्ना उम्मेदवारलाई भोट दिन र अन्यत्र मतदानमा सहभागी नहुन निर्देशन दिएको छ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन्।

रिक्त १९ पदका लागि विभिन्न दलबाट ४३ जना उम्मेदवार छन्। मतदान सकिएपछि आजै मतगणना गर्ने तयारी छ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने सवैधानिक व्यवस्था छ।