आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सातै प्रदेशमा राष्ट्रिय सभा सदस्यको मतदानको तयारी

गोकर्णेश्वर खबर११ माघ २०७८, मंगलवार ०९:५९ मा प्रकाशित (२ साल अघि) २७५ पाठक संख्या

११ माघ, काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रम सुरु भएको छ ।

अआयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको छ ।

सातवटा प्रदेशमा कुल दुई हजार २५ जना मतदाता छन् । यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । आयोगका अनुसार प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको छ ।