आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

स्वदेश फर्किए कप्तान लामिछाने,भन्छन्-‘विवाद परिवारभित्रै सल्टिएको देख्दा खुसी लाग्यो’

गोकर्णेश्वर खबर८ माघ २०७८, शनिबार ०८:२९ मा प्रकाशित (२ साल अघि) २५० पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। अष्ट्रेलियामा जारी बिग बास लिग टी(ट्वान्टी क्रिकेटमा सहभागि भएर सन्दीप शुक्रबार राति स्वदेश फर्किएका हुन्।

अघिल्लो महिना नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको थियो।

ओमानमा हुने आईसीसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटका लागि सन्दीप बीबीएल नसकिँदै स्वदेश फर्किएका हुन्।

सन्दीपले होबार्ट हरिकेन्सबाट बिग बास खेलेका थिए । उनले होबार्टका लागि यस सिजनमा १४ खेल खेल्दै १४ विकेट लिएका थिए।
त्रिभुवन विमानस्थलमा ओर्लेपछि कप्तानको रूपमा पहिलो सार्वजनिक अभिव्यक्ति दिएका सन्दीपले राष्ट्रिय टोलीका लागि सबैले एकजुट भएर खेल्ने प्रतिबद्धता जनाएका छन्।

उनले हालको टिममा युवा खेलाडीको बाहुल्यता रहेको बताउँदै आफूलाई सहकार्य गर्न कुनै कठिनाई नहुने बताए।

सन्दिपले आफ्नो पहिला प्राथमिकता देश रहेको र नेपालले खेल्ने प्रतियोगिताको तयारीका लागि बिग ब्यास लिग छोडेर आएको बताएका छन्।

उनले यसअघि परिवारभित्र देखिएको विवाद परिवारभित्रै सल्टिएको देख्दा खुसी लागेको बताए।

मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले छनोटका लागि सन्दीपको कप्तानीमा अन्तिम टिम घोषणा गरिसकेका छन्। अब सन्दीप नेपाली टोलीको बन्द प्रशिक्षणमा संलग्न हुनेछन्।

ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ को खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म हुनेछ।