आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडौँ उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक

गोकर्णेश्वर खबर४ माघ २०७८, मंगलवार १६:३५ मा प्रकाशित (२ साल अघि) ११० पाठक संख्या

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन्। तीनै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन्।

‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौं जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरेको छ। उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ। मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको छ।

भौतिक रूपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरिएको छ।

यसैबीच सरकारले लकडाउन नगर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले लकडाउनको पक्षमा सरकार नरहेको स्पष्ट पारेको छ । संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेलले यस्तो बताएका हुन्। ‘हामी लडकडाउनको पक्षमा छैनौं। भीड नियन्त्रण होस्। स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ,’ उनले भने।