आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

पूर्वराजा वीरेन्द्र शाहका दस्तावेज सूचीकरण सुरु

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार ०९:३० मा प्रकाशित (२ साल अघि) ३९६ पाठक संख्या

३ माघ, काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरू गरिएको छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको छ । नारायणहिटीको श्रीसदनका दुई कोठामा रहेका दस्तावेज सूचीकरण सुरू गरिएको हो । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा थियो ।

उपचार, बिन्तीपत्र, भ्रमण, उत्सव, प्रतिवेदन र राजदूतावाससम्बन्धी दुई हजार २६८ दस्तावेज सूचीकरण गरिएको छ । राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी, भर्पाइ, रसिदलगायत दस्तावेज एक हजार ३०३ फेला परेको छ । कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका एक हजार ८८७ दस्तावेज सूचीकृत गरिएको छ ।

दुई कोठाका दस्तावेज अभिलेखीकरण गर्ने क्रममा नेपाली भाषाका ६५६ र अङ्ग्रेजी भाषाका ८६५ पुस्तक फेला परेका छन् । पुस्तक र दस्तावेजलाई चार भागमा विभाजन गरी सूचीकरण गर्ने काम जारी छ । अभिलेखीकरण सकिएपछि नारायणहिटीमै सुरक्षित राखिने वा अभिलेखालयमा ल्याएर संरक्षण गरिने भन्ने विषयमा छलफल भइरहेको छ ।