आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सर्वदलीय बैठकमा आयोगको ७ बुँदे प्रस्ताव, माघ पहिलो हप्ता निर्वाचनको मिति घोषणा गर्नु पर्ने

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार १५:३८ मा प्रकाशित (२ साल अघि) ८७ पाठक संख्या

३० पुष, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।

यसैगरी, शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका छन् ।

आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।

बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ ।

बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

त्यसका लागि ५३२ जना प्रदेशसभा सदस्य र १४९३ जना गरी कुल २०२५ मतदाताले निर्वाचनमा भाग लिने आयोगले जनाएको छ । राष्ट्रियसभामा १९ पदका लागि निर्वाचन हुँदैछ ।​