आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

ओमिक्रोनको संक्रमण बढ्दै जाँदा बालबालिकामा संक्रमण बढ्यो

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार २०:१७ मा प्रकाशित (२ साल अघि) २६९ पाठक संख्या

काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको संख्यामा वृद्धि हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांक हेर्ने हो भने संक्रमित हुने बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको छ । २१ पुसमा १० वर्षभन्दा मुनिका ७ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो । तर, २९ पुसमा उक्त संख्या उकालो लाग्दै ४९ पुगेको छ ।
बालबालिकामा संक्रमणदर बढ्दै जानुमा मुख्य कारण नै खोपको पहुँचमा बालबालिका नहुनु बालरोग विशेषज्ञहरु बताउँछन् ।

उसो त अस्पतालमा कोरोनाका शंकास्पद लक्षण भएका बालबालिकाको भर्ना दर बढ्दै गएको छ ।

कान्तिबाल अस्पतालका निर्देशक डा. अजित रायमाझी पछिल्ला केही दिनयता कोरोनाका जस्तै लक्षण लिएर आउने बालबालिकाको संख्यामा वृद्धि भएको बताउँछन् ।

बालरोग विशेषज्ञहरुको अनुमान छ – ओमिक्रोनको लहरबाट धेरै बालबालिका संक्रमित हुन सक्छन् ।
हाल कान्तिबाल अस्पतालमा १४ जना शंकास्पद बालबालिकालाई भर्ना गरिएर राखिएको छ भने दुई जना बालबालिका कोरोना पोजेटिभ छन् । तर, यो संख्या करिब १० दिन अगाडि शंकास्पद एक दुई जनामा सीमित थियो । अस्पतालमा भर्ना भएका शंस्कापद केसहरु १० वर्षभन्दा तलका बालबालिका छन् । ‘केही दिनयता कोरोनाको लक्षण भएका बालबालिका भर्ना हुने क्रम बढ्दो छ,’ डा. रायमाझीले भने, ‘शंकास्पद बालबालिका थपिँदै जानुले चिन्ता थपिदिएको छ ।’

डा. रायमाझीका अनुसार १४ वटा शंकास्पद केसहरुको पीसीआर परीक्षण भइरहेको छ ।
बालबालिकाले कोरोना खोप नपाएका कारण पनि संक्रमित केसहरु बढिरहेको डा. रायमाझीको बुझाइ छ ।

‘यसभन्दा अगाडिको लहरभन्दा यो लहरमा बालबालिकालाई बढी संक्रमण गर्नसक्छ । ओमिक्रोन बढी संक्रामक छ भन्ने कुरा अनुसन्धानले देखाइसकेको छ । त्यसमाथि हामीले १२ वर्ष मुनिका बालबालिकालाई कोरोना खोप दिन सकेका छैनौं,’ डा. रायमाझीले भने ।

बालरोग प्रतिरोध तथा बाथजन्य रोग विशेषज्ञ डा. धर्मागत भट्टराई ओमिक्रोन बढी संक्रामक रहेका कारण बालबालिकालाई जोगाउनुपर्ने सुझाव दिन्छन् ।

‘अन्य भेरियन्टभन्दा ओमिक्रोन बढी संक्रामक रहेका कारण धेरै बालबालिकामा संक्रमण पुष्टि हुनसक्छ,’ डा. भट्टराईले भने, ‘ तर, अहिलेसम्म अध्ययनले धेरै गम्भीर बनाएको देखाएको छैन ।’
बालबालिकामा यसको लक्षण कसरी चिन्ने ?

सरकारले बालबालिकाहरूलाई संक्रमणबाट जोगाउनका लागि विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । तर, घरमा पनि अभिभावकले बालबालिकालाई संक्रमणबाट जोगाउनका लागि जनस्वास्थ्यको मापदण्ड पालना गनुपर्ने विज्ञको सुझाव छ ।

संक्रमणबाट बालबालिकालाई बचाउन सबैभन्दा महत्वपूर्ण भूमिका अभिभावकको हुने भन्दै डा. भट्टराई अभिभावकले विशेष सतर्कता अपनाउनुपर्ने सुझाव दिन्छन् ।

बालबालिकामा रुघाखोकी, श्वास लिँदा आवाज आउने, खानामा रुची घट्ने, सामान्य ज्वरो जस्ता लक्षण लिएर अस्पताल पुगेका छन् । तर, यी सामान्य लक्षण हुन् । अहिले बालबालिकामा माथिल्लो श्वासप्रश्वास प्रणाली नाक, घाँटी लगायतका अंगमा इन्फेक्सन भएकाहरुमा संक्रमण देखिएको डा. भट्टराई बताउँछन् ।

बच्चाले राम्रोसँग खाइरहेको छैन, श्वास छिटोछिटो फेर्ने गरेको छ, खेल्न मन गरेको छैन, खोकी वा ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने डा. भट्टराईको सुझाव छ ।

श्वासप्रश्वासको गति छिट्टो हुने, कोखा हान्ने, बालबालिका शिथिल हुने, अक्सिजन लेबल ९३ भन्दा तल झर्ने, जिब्रोको भाग निलो हुने जस्ता लक्षण देखिए तुरुन्तै अस्पताल लैजानुपर्ने उनको सुझाव छ । बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज हुने उनको भनाइ छ ।