आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

अफगानिस्तानमा खाद्य संकट, भोकमरीको अवस्था आउन सक्ने

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार ०९:३० मा प्रकाशित (२ साल अघि) १४९ पाठक संख्या

२९ पुष, काठमाडौं । बीबीसीका अनुसार अफगानिस्तानमा अहिले अत्यधिक जाडो रहेको छ । जाडोयामसँगै अफगानिस्तानमा खाद्य संकट देखिएको छ । तालीवानको सत्ता र अन्तर्राष्ट्रिय नाकाबन्दीले देशको अर्थतन्त्रलाई पतनको स्थितिमा पुर्याएको छ ।

देशका आधा भन्दा बढी जनतामा खाद्यान्नको चरम अभाव छ । खाद्यान्न धेरै महंगो भएको छ र सर्वसाधारणको पहुँच भन्दा माथी पुगिसकेको छ । बजारमा भएको खाद्यान्न महंगो भएकोले किन्न सक्ने अवस्था छैन ।

राजधानी काबुलको केन्द्रमा रहेको बजार भरि खानेकुरा र सामानहरु भरिभराउ भएर पनि किन्ने पैसा नभएकोले अहिले हुनेखाने परिवार समेत यतिबेला विश्व खाद्य कार्यक्रमले वितरण गर्ने सहायताको प्याकेज पर्खिरहेका छन् ।

पश्चिमी सरकारहरुको सहयोग नपाउनाले अफगानिस्तानमा बेरोजगारी दर अचानक बढ्दा एकदम कमै मात्र आफ्नो परिवारको छाक टार्न सक्ने अवस्थामा छन् भने घरलाई तातो राख्नमा पनि अधिकांशलाई निकै कठिन छ ।

तालिबानले सार्वजनिक क्षेत्रका कामदारको तलबको रूपमा गहुँ दिईरहेको छ । तालिबानले ‘फुड फर वर्क’ (काम गरेबापत खाद्यान्न दिने) कार्यक्रम अन्तर्गत ज्याला स्वरूप गहुँ दिएको हो । उसले काम गरेबापत खाद्यान्न दिने कार्यक्रमलाई विस्तार गरिरहेको छ ।

संयुक्त राष्ट्र संघ (यूएन)ले अफगानिस्तानलाई उपलब्ध गराउन चार अर्ब ४० करोड डलर मानवीय सहायताका लागि आह्वान गरेको बेला यो कार्यक्रम आएको हो । यूएनले यो वर्ष अफगानिस्तानको आधा भन्दा धेरै जनसंख्याका लागि सहायता कोष आवश्यक रहेको बताएको छ ।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको आर्थिक एवं मानवीय संकट गहिरिएको छ । तालिबानको पछिल्लो घोषणाले देशलाई छोपेको आर्थिक संकटलाई देखाएको छ ।